Thaha

Sunday 22 September - 2:28 pm NST

रक्सौल नाकामा रोकिएका ग्याँसका बुलेट  रुट परिवर्तन  गरी ल्याउन सुरु

 

काठमाण्डौ, २८ पुस । नेपाल आयल निगमले रक्सौल नाकामा रोकिएका खाना पकाउने ग्याँसका बुलेटलाई रुट परिवर्तन  गरी ल्याउन सुरु गरेको छ । मधेशी मोर्चाको आन्दोलनका कारण लामो समयदेखि रक्सौलमा रोकिएका २ सय ३१ बुलेटमध्ये ८८ वटाको रुट परिवर्तनको प्रक्रिया पूरा भइसकोको निगमले जनाएको छ । तिमध्ये पनि हिजो भैरहवा र बिरटनगर नाकाबाट २५ बुलेट ग्याँस नेपाल भित्रिसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । रक्सौलमा रोकिएका बाँकी १ सय ४३ वटा ग्याँसका बुलेट पनि रिरुट गरी ल्याउन प्रक्रिया सुरु भइसकेकाले क्रमशः आयात हुने घिमिरेले बताउनुभयो । ग्याँस भारतको बरौनी, हल्दिया र मथुराबाट मात्रै लोड हुने भएकाले सहज भएका नाकाबाट ल्याउन समस्या भएको हो ।

आयात बढेपछि बितेको २४ घण्टामा ५७ हजार सिलिण्डर र ३ बुलेट ग्याँस उपत्यका भित्रिएको छ । पेट्रोलियम पदार्थको आयात भने गोण्डा र बेतालपुर डिपोबाट बढाइएकाले भैरहवा र नेपालगञ्ज नाका हुँदै आइरहेको छ । यसअघि निकै कम मात्रै आयात हुने दुई डिपोबाट अहिले आयात बढाइएपनि पर्याप्त भने हुन नसकेको प्रवक्ता घिमिरेले बताउनुभयो । आयातको अवस्था हेरेर बिक्रीको परिमाण बढाउने निगमको योजना छ ।